धितोपत्र बोर्डका अध्यक्ष तथा संचालक माथि छानविन कर्मचारी युनियनको माग

४ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले धितोपत्र बोर्डका अध्यक्ष तथा संचालक माथि  छानविन कार्य अगाडि बढाई दोषी देखिए हदैसम्मको कारवाही गर्न माग गरको छ ।

युनियनले बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गान तथा संचालक चन्द्र प्रसाद ढकाल लगायत बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको सर्वोतम सिमेन्टको शेयर खरिदका बिषयमा छानबिन गर्न माग गरेको हो ।

युनियनले विभिन्न संचार माध्यमबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा पनि यूनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन भएको ठहर समेत युनियनले गरेको छ ।

नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था हो। करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्छ भन्ने कुरामा दुइ मत हुनै सक्दैन युनियनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको कर्मचारी युनियनको भनाई छ ।

करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछौं। युनियनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


४ बर्ष अगाडि

प्रतिक्रिया