काठमाडौं, हलिउड अभिनेत्री स्कारलेट जोन्सनले एमसीयूको आफ्नो पहिलो सोलो फिल्म ‘ब्ल्याक विडो’ को रिलिजलाई लिएर हलिउडको प्रतिष्ठित फिल्म वितरण कम्पनी डिस्ने स्टूडियोविरुद्ध अदालतमा मुद्दा हालेकी छन् । आफू अभिनीत फिल्मलाई सिनेमा हलमा मात्र नभइ ओटीटी प्लेटफर्म डिज्ने प्लसमा पनि रिलिज गरेको भन्दै लस एन्जिलिसको अदालतमा उनले डिज्नीविरुद्ध मुद्दा हालेकी हुन् ।
फिल्ममा काम गरेबापत पाउनु पर्ने पारिश्रमिकको ठूलो हिस्सा उनलाई फिल्मले सिनेमा हलबाट गर्ने कमाईबाट आउनुपर्ने थियो । तर, डिज्नीले फिल्मलाई सिनेमा हलसँगै ओटीटीमा रिलिज गरेपछि उनलाई ठूलो नोक्सान भएको छ । डिज्नीले आफ्नो स्ट्रिमिङ साइटको व्यापार बढाउन फिल्मलाई ओटीटीमा पनि रिलिज गरेको उनको आरोप छ । डिज्नीले यो मुद्दाप्रति आपत्ति जनाएको छ ।
सिनेमा हलमा मात्र रिलिज गरेको भए फिल्मको कमाई अझ धेरै हुने स्कारलेटले बताएकी छन् । डिज्नीले जानीबुझी मार्वेलसँग भएको सम्झौताको उल्लंघन गरेको उनको भनाई छ । डिज्नीले मार्चमा ‘ब्ल्याक विडो’ लाई सिनेमा घरसँगै ओटीटीमा रिलिज गर्ने घोषणा गरेको थियो । फिल्मले कम क्षमतामा खुलेका सिनेमा हलमा रिलिज भएर पनि बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ ।
प्रतिक्रिया