काठमाडौें - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लािग निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा शुक्रबारसम्म ५१ हजार १५९ वटा आवदन परेको छ ।
आयोजना प्रभावितहरुबाट ४ हजार ९८२ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ४६ हजार १७७ वटा आवेदन परेको हो ।
कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । कम्पनीको आयोजना प्रभावित र समग्र सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ ।
आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ ।
साथै उक्त आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।अब साउन ३२ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
प्रतिक्रिया