पदका कारण जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति

४ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको छ । आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । 

नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ । भावी रणनीति तयार गर्न दुई दिन ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो । 

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पनि कार्यकारिणी समिति भने ५१ सदस्यीय नै कायम गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षका १६ जनाको नाम पनि छ । यादव पक्षको तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले गरेको माइन्युटमा पनि ठाकुर पक्षका नेताहरूको नाम रहेको छ । 

यादव पक्षले कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेपनि ठाकुर पक्षको बारेमा केही बोलेका छैनन् । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पनि ठाकुर पक्षले विपक्षमा मतदान गरेपछि स्वतः जसपामा नरहेको पुष्टि भएको दाबी गरे । निर्वाचन आयोगले पनि दल गर्दा गराउन भनेको छ, त्यही भएर ठाकुर पक्ष जसपामा नरहेको उनले बताए । 

ठाकुर पक्षले नयाँ पार्टी गठन नगरे पनि नयाँ सङ्गठनको अभ्यास भने गर्ने भएको छ । सो पक्षले पार्टीभित्रको विवादलाई लिएर जनतामा जाने र त्यहाँ आफ्नो कुरा राख्दै सङ्गठनलाई समेट्ने कार्य पनि गर्ने सो समूहको रणनीति रहेको छ । 

यस्तै, आज २ बजे बस्ने कार्यकारिणी समितिको बैठकले कार्य विभाजन गरी नेताहरूलाई जिल्ला जिल्लामा खटाउने भएको छ । यता, उपेन्द्र यादवले पनि कारबाही गर्न सकिरहेको छैनन् । पहिला पनि पार्टीबाट निष्कासन गरे पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । फेरि के कारण देखाउँदै कारबाही गर्ने भन्ने यादव पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया