नेकपा बैठकमा ओली प्रचण्डलाई सदस्यहरुले पारे रातोपिरो

७ बर्ष अगाडि

काठमाडौं– शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबारदेखि सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । 

सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश अघिकांश नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

६ महिनापछि बसेको स्थायी कमिटी बैठक बोल्ने क्रममा नेता घनश्याम भुसालले नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी अध्यक्ष नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्ने हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्नसक्ने खतरा औंल्याए । 

बैठकमा सहभागि एक नेताका अनुसार नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को सवालमा भने खुलेर आलोचना गरेका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए । 

यस्तै नेता बामदेव गौमले आफूले पूरक प्रस्तावको रुपमा प्रतिवेदन बैठकमा पेस गरेको भन्दै त्यसकै व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गतिदिन बुँदागत सुझाव समेत दिएका छन् । 

यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागि ती नेताले जानकारी दिए । 

‘बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरुले दुई अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा असन्तुटि जनाउनु भएको छ । पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश उहाँहरुको थियो’ ती नेताले भने, ‘नेतृत्वमा पनि सरकारको समेत नेतृत्व गरिरहेको नाताले ओली प्रति असन्तुष्टि देखियो ।’

बैठकमा बोल्ने नेताहरुले वामदेव गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा लिन नहुने धारणा राखेका थिए । 

आजको बैठकमा ९ नेताहरुले पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए । 

उनले पार्टी नेतृत्वको सरकारले विस्तारै बाटो लिँदै गरेको भन्दै यसैलाई लिएर आलोचना गरिहाल्नु हतार हुने धारणा राखेका थिए । 

अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया