अमेरिका, चीन र बेलायतले नेपाल रेडक्रसलाई निःशुल्क खोप प्रदान

४ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फत नेपाल रेडक्रसलाई निःशुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । यसक्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले पहिलोपटक एक लाख मात्रा भेरोसिल खोप प्रदान गर्ने जनाएको छ भने अन्य दुई देशसँग निरन्तर पैरवी जारी रहेको जनाइएको छ । 

नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)मार्फत सोसाइटीले खोपका लागि ‘लबिङ’ ९पैरवी० लाई तीव्र बनाएको थियो । अहिले पनि आइएफआरसीले ‘कोभ्याक्स’अन्तर्गत विकासोन्मुख तथा गरिब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरवी गर्दै आएको छ । अमेरिकाले हालै कोभ्याक्सअन्तर्गत १५ लाख मात्रा जोनसन खोप नेपाललाई प्रदान गरेको थियो भने चीनले ५८ लाख मात्रा भेरोसिल र भारतले १४ लाख ४८ हजार कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ ।

यसैगरी जापानले १६ लाख मात्रा एष्ट्राजेनेका प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । महामन्त्री अर्यालले खोप उत्पादक देशले मानवीय सहयोगअन्तर्गत सोसाइटीलाई खोप प्रदान गर्न शुरुआत गरेको र यस क्रममा चिनियाँ रेडक्रसले एक लाख मात्रा भेरोसेल प्रदान गर्न लागेको जानकारी दिए । उनले भने, “चिनियाँ रेडक्रसले नेपाल रेडक्रसलाई खोप सहयोग दिने जानकारी आएको छ । अमेरिका र बेलायतबाट पनि खोप आउनेमा हामी आशावादी छाँै । ती देशका देशीय रेडक्रसमार्फत हाम्रो पैरवी निरन्तर जारी नै छ । ती देशका सोसाइटीबाट सकारात्मक सन्देश आएको छ ।”

नेपालमा दुईमात्रा खोप लगाउनेको सङ्ख्या करिब चार प्रतिशत र एक मात्रा लगाउने छ प्रतिशत मात्र रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार कोरोनाविरुद्ध ८९ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । चौध लाख ५० हजारभन्दा बढीले पूर्ण खोप र ३४ लाख १५ हजारभन्दा बढीले पहिलो खोप लगाएका मन्त्रालयले जनाएको छ । अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने वर्तमान सरकारले प्रतिबद्धता जनाएको छ । यसका लागि दुई मात्रा खोप लगाउँदा पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक पर्छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका सबैभन्दा गरिब ५० देशले दुई प्रतिशत मात्र खोप पाएका छन् । यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ । 

महामन्त्री अर्यालका अनुसार चिनियाँ रेडक्रसमार्फत प्राप्त भएका खोप स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वयंसेवक तथा अग्रपङ्क्तिमा खटिनेलाई लगाइने छ । हाल सोसाइटीमा १३ लाख स्वयंसेवक छन् । कोरोनाविरुद्धको सचेतना कार्यक्रम, आइसोलेशन सेन्टर, हेल्थडेस्क तथा खोप केन्द्रमा उनीहरु परिचालित छन् । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएका उहाँले भन्नुभयो, “महामारी रोमथामको एक मात्र उपाय खोप नै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पु¥याउन मैले प्राथमिकता दिएको छु ।”

सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ । मास्क, स्यानिटाइजर, पिपिइ, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो । उनले भने, “नयाँ नयाँ भेरियन्टसहितको कोरोनाको सम्भावित तेस्रो लहरको जोखिमलाई कम गर्न तयारी शुरु गरेका छौँ । यसका लागि आश्यक भेन्टिलेटर र अक्सिजनको जोहोमा लागेका छौँ ।”

सोसाइटीले आफ्ना ‘ग’ वर्गका एम्बुलेन्सलाई स्तरोन्नति गर्दै ‘ख’ वर्गमा ल्याउने काम जारी रहेको जनाएको छ । हाल संस्थाका २४२ एम्बुलेन्स छन् । कोरोना नियन्त्रणका लागि जोखिम सञ्चार र समुदायको संलग्नता, वडा तहमा युवा परिचालन, स्वास्थ्य र सरसफाइ, खानेपानी र शौचालयलाई व्यवस्थित गर्न सहयोग जारी राखेको सोसाइटीले जनाएको छ । कोरोना सङ्क्रमितको उपचारमा आवश्यक हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिजन उत्पादन प्लान्ट, पल्स अक्सोमिटर, थर्मलगन, पिपिइलगायतका सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा वितरण जारी राखेको छ । आइएफआरसीमार्फत २२५ अक्सिजन कन्सन्टे«टर तथा विभिन्न रेडक्रसमार्फत ५०० थान १० लिटर क्षमताका र १०० थान ४० लिटरभन्दा माथिका क्षमताका अक्सिजन सिलिण्डर सोसाइटीले प्राप्त गरेको थियो । सोसाइटीले दुई हजार ५०० अक्सोमिटर, एक हजार ५०० थर्मोमिटर, आठ लाख ४९ हजार ४८४ पिपिइ, मास्क, ग्लोब्स सरकारलाई सहयोग गरिसकेको छ । साथै ७७२ शव व्यवस्थापन झोला अस्पताल तथा स्थानीय तहमा वितरण गरिसकेको छ । महामन्त्री अर्यालले कोरोनाका कारण आर्थिक समस्यामा परेकाको जीवनस्तर माथि उकास्न ३४ जिल्लामा आयआर्जनका कार्यक्रम सञ्चालन हुन लागेका जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया