कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए । चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए । बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।
यस्तै धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ । आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया