झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।
मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।
कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताए। झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।
यस्तै कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए । “जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो”, प्रजिअ तिम्सिनाले भने, “सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।”
सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।
प्रतिक्रिया