प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिए । “सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुनसक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छाँै”, उनले भने, “ती विद्यार्थी परीक्षा शुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउनेछन् ।”बोर्डले २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुईवटा हुने जनाएको छ ।
सदस्यसचिव अर्यालका अनुसार करीब चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछ । पच्चिस विद्यार्थी भएका विद्यालय एक हजार १००, २६ देखि ५० परीक्षार्थी भएका विद्यालय दुई हजार ३००, ५१ देखि १०० सम्म परीक्षार्थी भएका विद्यालय दुई हजार ४०० छन् भने ५०० परीक्षार्थी भएका विद्यालय कमै मात्र छन् ।
प्रश्नपत्र अनलाइन र हातेप्रश्नपत्र
बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्नपत्र पठाइने भएको छ ।
हाते प्रश्नपत्र र अनलाइनबाट पठाइएका प्रश्नपत्र भने फरक–फरक हुनेछन् । गत वर्ष ४० पूर्णाङ्कको मात्र भएकामा यसपटक १०० मात्र हुने भएको छ ।
प्रतिक्रिया