गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु, पोखरीमा ३ जनाको शब फेला

४ बर्ष अगाडि

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

 दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यस्तै सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।
 
गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया