लाइन काटेर बक्यौता असुल, महसुल नबुझाएसम्म लाइन नजोडिँने

४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो । 

पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत् आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए। उनले भने, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन ।”

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा विद्युत् सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत् महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासि लाइन काटिनु उचित नभएको बताए।

नगरपालिका स्थापना भएदेखि नै विद्युत् महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको बताइएको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।

महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ । 

तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जनाएको छ ।

लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रु तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ । केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेको छ । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।

ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । “जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको छ”, प्रमुख गोशलीले भने, “आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका छौँ ।”

तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारबाट आएको ग्रामीण विद्युतीकरण कार्यक्रमको शतप्रतिशत काम पूरा भएको जनाइएको छ । केन्द्रले विद्युत् विस्तारका साथै विद्युत् लाइन सुदृढीकरण, ट्रान्सफर्मर जडान, चुहावट रोक्ने, जीर्ण काठका पोललाई विस्थापित गरी नयाँ फलामका पोल राख्नेलगायतका काम गर्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया