डुबेको अबस्थामा ९ दिनको शिशुसहित ३ जनाको शव फेला, दुर्घटनामा परि दम्पतीको मृत्यु

४ बर्ष अगाडि

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । 
 
गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

यता पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो । ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया