सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो । मिलिटरी एकेडेमीबाट ग्राजुएट भएपछि उनी पुरानो गोर्खा बटालियनमा कार्यरत भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।
४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रतिक्रिया