काठमाडौं – संगठनको भावी रणनीति तय गर्न सशस्त्र प्रहरी बल नेपालको दुई दिने ‘ईकाई प्रमुख सम्मेलन २०७५’ आइतबारदेखि राजधानीमा सुरु भएको छ ।
सहभागितामूलक नेतृत्वको माध्यमबाट नीति निर्माण गर्न सुरु भएको सम्मेलन सोमबार सकिने छ । सम्मेलनमा सातवटै क्षेत्रका बाहिनीपति (डीआईजी) देखि गुल्मपतिसम्मको सहभागिता रहेको छ । यसका अतिरिक्त सम्मेलनमा सशस्त्र प्रहरी प्रधान कार्यालय, उपत्यकाका अन्य कार्यालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाई प्रमुखहरुबीच राज्यद्वारा संगठनलाई प्रदान गरिएका कार्यादेशहरुलाई प्रभावकारी ढंगले पूरा गर्ने र संगठनले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरुभित्र रहेर गहन अध्ययन, प्रस्तुतीकरण र छलफल तथा समीक्षा हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आइतबार एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।
त्यसअवसरमा बोल्दै गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको चर्चा गर्दै देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरुबीच आपसमा गहन छलफल र विश्लेषण गरिने यो सम्मेलनबाट महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरे । सम्मेलनबाट निस्कने निर्णयलाई कार्यान्वयन गर्न आफू गम्भीर रहने पनि उनको सो अवसरमा बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया