इलाममा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, कडाइका साथ निषेधाज्ञा

४ बर्ष अगाडि

इलाममा पछिल्लो समय कोभिड–१९ दोस्रो लहरको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो दश दिन यता इलाममा ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

निषेधाज्ञा केही खुकुलो भए सँगै श्रावणको पहिलो हप्तामात्र इलाममा दैनिक कोरोना संक्रमित १ सय २० जना सम्म भेटिएका छन् । आइतबारमात्रै इलाममा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मापदण्ड पालना  नगर्दा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको हो । यस्तै इलाममा पछिल्लो दश दिनमा कोरोना संक्रमणलाई कारण १० जनाको मृत्यु भएको छ । 

हाल इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिकामामा धेरै संक्रमित फेला परेको बताउँछन् इलामका कोरोना फोकल पर्सन विमल बराल । बरालका अनुसार असार मसान्त देखी यता श्रावण १० गते सम्ममा इलाममा ५ सयको हाराहारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

हाल सम्म इलाममा ३ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  भने २ हजार १२० जना कोरोना  मुक्त भएका छन् । यस्तै इलाममा हाल ८४९ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको बरालले बताए । 

यता कोरोनाको उपचार हुँदै आएको इलाम अस्पतालमा कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको छ । परीक्षण गराउने बढे सँगै कोरोना संक्रमित पनि बढेको बताउँछन् इलाम अस्पतालका  प्रयोगशाला इन्चार्ज युवनाथ बराल । बरालका  अनुसार इलाम अस्पतालमा दैनिक ७० देखि ९० जनाको एन्टिजेन परिक्षण हुँदै आएको छ । ८५ जनाको  एन्टिजेन परीक्षण गर्दा ५२ जना सम्ममा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । 

इलाम अस्पतालमा परिक्षण गरिएकामा दैनिक ६० प्रतिशत सम्ममा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । कोरोना संक्रमण सँगै मृत्युदर पनि बढेको छ । इलाम अस्पतालमा हाल २ वटा भेन्टिलेटर सञ्चालनमा रहेको छ ।  समयमा ध्यान नपुर्‍याउँदा बिरामी गम्भिर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउने गरेको बराल बताउँछन् । मापदण्डको पालना नगर्ने र  अस्पतालमा चाप यसरीनै बढ्नेहो भने परिक्षण किटको अभाव हुन सक्ने बरालको भनाइ रहेको छ । 

कोरोना संक्रमित बढेपछि इलाममा कडाइका साथ निषेधाज्ञा थप गरिएको छ ।  प्रमुख बजार र वस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसलबाहेकका पसलहरू पूर्णरुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए  । खड्काका अनुसार तरकारी, खाद्यान्न र फलफूल पसलहरू बिहान ११ बजेसम्म मात्र खुल्ला रहनेछन् । 

पछिल्लो समय स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएकाले अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा बाटोमा हिँडडुल गर्न समेत निषेध गरिएको खड्काले बताए । इलाममा साउन १५ गतेसम्म  निषेधाज्ञा लम्बिएकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया