कानून मन्त्री सँग चेम्बर प्रतिनिधि मण्डलको भेटवार्ता, निजी क्षेत्रलाई कूल आयातको १० प्रतिशत कोरोना खोप प्रदान गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू तथा सदस्यहरूद्वारा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समक्ष भेटवार्ता भएको छ । उक्त अवसरमा अध्यक्ष श्री राजेन्द्र मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट बधाई दिएका थिए ।

सो अवसरमा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनःस्थापित गर्न बिभिन्न सुझावहरू प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउँदै निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्यनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरू र उद्योग तथा यातायात क्षेत्रका मजदुरहरूलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे । 

यसका अतिरिक्त चेम्बर अध्यक्ष श्री राजेन्द्र मल्लले संसद्मा विचाराधीन आर्थिक विधेयकहरू शिघ्र पारित गरिनु पर्ने, खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने, नगद ओसार पोसार सम्बन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाई यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरुपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनु पर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्बन्धी कानूनी व्यवस्था हुनु पर्ने लगायत आर्थिक क्षेत्रसँग सम्बन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्बर अफ कमर्सलार्इ पनि संलग्न गर्न आग्रह गरेका छन् । 

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम् भूमिका रहने बताउनु हुँदै चेम्बरबाट प्रस्तुत सुझावलाई गम्भीरतापूर्वक लिएको बताए । हाम्रो पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगतिनै हो । यस सन्दर्भमा सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताए । 


उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्ष श्री दीपक मल्होत्रा, श्री उर्मिला श्रेष्ठ, श्री दीपक श्रेष्ठ, श्री सुरेन्द्र श्रेष्ठ, श्री त्रिभुवनधर तुलाधर तथा चेम्बर कार्य समिति सदस्य श्री देवेन्द्रभक्त श्रेष्ठ, श्री सन्तोष पाण्डे, श्री दीपककाजी तुलाधर, श्री निरज राई, श्री राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया