ताप्लेजुङ - ताप्लेजुङ समाज नेपालले ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारका अग्नीपीडित परिवारलाई १० लाख बढी रकम सहयोग गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी समाजले सहयोग रकमको हिसाब सार्वजनिक गरेको हो ।
देश तथा विदेशबाट गरेर जम्मा ११ लाख ९७ हजार एक सय चौहत्तर रुपैयाँ संकलन भएकोमा दोभानका आगलागी पीडितलाई १० लाख एक हजार रुपैयाँ प्रतिनीधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको उपस्थितीमा २०७८ असार २१ गते हस्तान्तरण गरिएको थियो ।
त्यस्तै समाजको कार्यसमितीबाट संकलन भएको रकममध्ये एक लाख ९६ हजार १७४ रुपैयाँ भने तत्कालको समयमा पुनः बाढी पहिरोका कारण जो कोहीलाई तत्काल राहत वितरण गर्न सकियोस् भन्नका लागि कुम्भकर्ण आपतकालीन कोषमा जम्मा गरिएको समाजका महासचिव अग्नी पौडेलले जानकारी दिएका छन् ।
राहत संकलनमा संयुक्त किरात समाज बेल्जियम र पूर्वेली समाज बेल्जियमबाट २ लाख ९० हजार आठ सय ७८, ताप्लेजुङ परिवार क्यानडाबाट १ लाख ५३ हजार, अस्ट्रेलियाबाट ८० हजार, युकेबाट ३४ हजार प्राप्त भएको थियो ।
त्यस्तै सुरज र आशा हङ्कङबाट २५ हजार, सिता राना र मनु थक्लुङ्द्वारा संकलन गरेर ७५ हजार ३ सय ८० रुपैयाँ, एकता होटल तथा गेस्ट हाउसबाट ५० हजार रुपैयाँ, ताप्लेजुङ समाजको कार्यसमिति सदस्य तथा अन्यबाट नेपालमा संकलित २ लाख ९२ हजार ७४२ रुपैयाँ र कुम्भकर्ण आपतकालीन राहत कोषबाट १ लाख ९६ हजार १७४ रुपैयाँ संकलन भएको महासचिव पौडेलले बताए ।
गत फागुन १८ गते दोभानमा भएको आगलागीबाट दोभानमा ४९ घर पुर्ण रुपमा जलेर नस्ट भएका थिए भने ७९ परिवार विस्थापित भएका थिए ।
प्रतिक्रिया