भारतीय नोट नचल्ने सरकारको निर्णयले कस्तो पार्ला प्रभाव

७ बर्ष अगाडि

 
काठमाडौ– सरकारले पछिल्लो पटक भारतीय मुद्रा २००, ५०० र २००० हजार नेपाल नचल्ने निर्णय गरेको छ । गत सोमबारको मन्त्रिपरिषदका् बैठकले उक्त निर्णय गरेको र त्यसको जानकारी बिहिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो ।
 
सरकारका  प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले सो सम्बन्धी जानकारी दिएका थिए । नेपालमा रहेका पूराना भारतीइ नोट साटन अस्वीकार गरेको भारतलाई नेपाल सरकारको पछिल्लो निर्णयले कस्तो प्रभाव पार्ला भन्ने बारेमा समेत सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ ।
 
नेपालका धेरै जसो ग्रामीण भेगका युवा तथा युवती रोजगारीका लागि भारतका विभिन्न शहमा जाने गरेका छन् । यस्तै भारतका व्यापारी तथा व्यवसायी समेत नेपालमा रोजगारी तथा व्यापार व्यवसायका लागि नेपालमा आउने गरेका छन् ।
 
 सरकारको पछिल्लो निर्णयपछि रु १०० बराबरको भारतीय मुद्रामा मात्रै नेपाल भित्र चल्न पाउने छन् । २००, ५००, २००० का नोट बोक्ने जो कोहीको रकम समेत अवैध हुने भएको छ ।
 
नेपालका ठूलो संख्यामा विद्यार्थी पनि भारतका विभिन्न कलेजमा अध्ययनरत छन् । उनीहरुले समेत सरकारको पछिल्लो निर्णयको प्रभावमा पर्न सक्नेछन् ।
 
नेपाल र भारतबीच खुला सीमानाका कारण पनि व्यापार, व्यवसाय, कारोवार तथा अन्य आर्थिक तथा सांस्कृतिक सम्बन्ध पनि रहँदै आएको छ । सरकारको पछिल्लो निर्णयले त्यसमा के कस्तो प्रभाव पार्न सक्ला भन्ने आशंका र खोजी समेत सुरु भएको छ ।
 
यस बारेमा नेपाल राष्ट्र बैंकले हालसम्म कुने पनि जानकारी दिएको छैन । अर्थ मन्त्रालयले समेत सो निर्णयका बारेमा केही बताएको छैन ।
 
जब भारत सरकारले सन् २०१६ मा नोट बन्दी लगाउने निर्णय गर्यो। त्यसको प्रभाव भारत भित्र पनि आन्तरिक रुपमा पर्यो । भारतमा मात्रै होइन नेपाल र भुटानमा समेत त्यसले समस्यामा पार्यो । नेपाल सरकारले पटक पटक आफ्ना नागरिक सँग रहेका पूराना भारतीय नोट साटिदिन आग्रह गर्यो ।
 
 तर भारतले कुनै पनि सहमति जनाएन । नेपालका अधिकारीले २४ हजारसम्म भारतीय रुपैयाँ साटिदिन आग्रह गरेको थियो । तर भारतीय अधिकारीले मात्रै ४५०० भारतीइ रुपैयाँ मात्रै साटन सकिने बताएका थिए । सो विषयमा मौखिक रुपमा मात्रै कुराकानी भएको बताइएको थियो ।
 
पछिल्लो पटक भारतको अर्थ मन्त्रालय र त्यहाँको केन्द्रीय बैंकले नेपालका नागरिकसँग रहेको भारतीय मुद्रा अब नसाटिने आशयका अभिव्यक्ति दिएका छन् । जसका कारण नेपाली नागरिकसँग रहेको मोटो रकम त्यत्तिकै खेर गएको छ ।
 
सरकारले पटक पटक प्रयास गरेपनि भारतीय अधिकारीले नेपाली नागरिकको नोट साटिदिएन । त्यसबाट ठूलो समस्यामा परेका नेपाली नागरिकलाई सरकारको पछिल्लो निर्णयले के कस्तो प्रभाव पार्ला र के कस्तो समस्या ल्याउला भन्ने बारेमा चौतर्फी रुपमा जिज्ञासा पैदा भएको छ । तर सरकारका प्रवक्ता बाँस्कोटाले उक्त निर्णय सुनाउने बाहेक सो बारेमा अरु केही पनि बताएका छैनन् ।  
 
तर भारतीय मिडियाले भने नेपाली नागरिकसँग रहेको भारतीय मुद्रा साटन भारत सरकारले अस्वीकार गरेपछि नेपाल सरकारले त्यस्तो निर्णय गरेको हो भन्दै समाचार सामग्री प्रकाशति गरेका छन् ।
भारतका अधिकाशं जसो मिडियाले नेपाल सरकारको पछिल्लो निर्णयले दुई देशको व्यापार तथा वाणिज्यमा समेत असर पर्न सक्ने आशयका समाचार सामग्री प्रकाशन तथा प्रसारण गरेका छन् । सो विषयमा जिज्ञासा राख्दा नेपाल राष्ट्र बैंकका कुनै पनि अधिकारी प्रतिक्रिया दिन तयार भएनन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया