काठमाडौं - लामो दूरीका सार्वजनिक सवारी शनिबारबाट सञ्चालनमा आएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण बन्द भएको लामो दूरीका सार्वजनिक सवारी ८५ दिनपछि शनिबारबाट सञ्चालनमा आएको हो ।
कोरोनाको दोस्रो लहर रोक्नका लागि उपत्यकामा वैशाख १६ देखि र क्रमशः अन्य जिल्लामा सार्वजनिक सवारी साधनको आवतजावतमा रोक लगाएको थियो । शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।
सरकारले गरेको निर्णय शनिबारबाट नै कार्यान्वयनमा आएको भए पनि लामो समय यातायात बन्द हुँदा यातायात मजदुर कार्य क्षेत्रमा नभएको सवारीको मर्मत सम्भार गर्नुपर्ने भएकाले गर्दा शनिबार २५ प्रतिशत मात्र सवारी सञ्चालनमा आएको बताइएको छ ।
यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट काउन्टरबाट टिकट काटेरमात्र यात्रा गर्न अनुरोध गरिएको छ । गत वर्ष करिब ६ र यस वर्ष करिब ३ महिनादेखि सरकारले कोरोना भाइरसको रोकथामका लागि सार्वजनिक सवारीमा लगाएको प्रतिबन्धका कारण ११ लाख मजदुर, ३० लाख ६० हजार यातायात व्यवसायी र ४५ लाख आश्रित परिवार संकटमा परेकाले महासंघले जनाएको छ ।
प्रतिक्रिया