गौतबुद्ध विमानस्थल: २२ अर्ब ४० करोड मुआब्जा वितरण

४ बर्ष अगाडि

 निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहण गरेर मुआब्जा दिने काम लगभग सकिसकेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म रु २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ मुआब्जा स्वरुप वितरण गरिसकिएको छ । अधीग्रहण गरेको जग्गासहित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा यतिबेला १० हजार ५०० रोपनी जग्गा रहेको छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ । 

नयाँ थपिएको जग्गामा डिभिओआर÷डिएमइ र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ । कार्गो भवनको निर्माण कार्य अन्तिम चरणमा छ । राडर, जहाज मर्मत क्षेत्र ९ह्याङ्गर०, आयल निगमको डिपो, हेलिप्याड, क्याटरिङ, अर्को पार्किङस्थल र अझै एउटा टर्मिनल बिल्डिङ बनाउनुपर्ने आवश्यक छ । उक्त कामका लागि बोलपत्र आह्वानका लागि प्रस्ताव गरिएको छ ।  

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा विमानस्थल भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलका रुपमा रहेको यो विमानस्थलको स्तरोन्नति गर्ने भन्दै औपाचारिकरुपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले  शिलान्यास गरेका हुन्। 

अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ तिर पूर्वप्रधानमन्त्री डा के आइ सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुआतका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०÷०२१ साल ताका हालको ठाउँमा स्थानान्तरण भएको स्थानीय जानकार बालकृष्ण भट्टराईले बताउनुभयो । भैरहवा क्षेत्रमा २०२५ को दशकदेखि क्याम्पसमा अध्यापनरत भट्टराईका अनुसार तत्कालीन समय करिब १० बिघा क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाडौँ उडान हुने गर्दथ्यो । 

विमानस्थल परिसर कच्ची भए तापनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पीच गरिदिएको थियो । पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र सङ्घीय प्रहरी इकाइ लुम्बिनी कार्यालय स्थापना भएको हो । तत्कालीन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामाग्री लिएर जाँदै गरेको टकोटा विमान दुर्घटना भएको थियो । त्यो नेपालको इतिहासमा पहिलो विमान दुर्घटना पनि हो । 

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । विसं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो । 

अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण९आइकाउ० को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् । 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपाल–भारत सीमा नजिक भएकाले गोरखपुर, लखनउसम्मका भारतीयले पनि गौतमबुद्ध विमानस्थलाई सहजरुपमा प्रयोग गर्ने अपेक्षा पर्यटन व्यवसायी नेपाल एशोसियसन अफ ट्राभलस एण्ड टूर एजेन्टका लुम्बिनीका अध्यक्ष सागर अधिकारीले बताए । 

कोभिडले तहसनहस बनाइरहँदा पनि गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यतिबेला भैरहवा लुम्बिनी क्षेत्रमा करोडौँ लगानीमा नयाँ तारे होटल पनि निर्माण भइरहेको होटल एशोसियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया