काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ ।
शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो ।
बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।
यसअघि वडा अधिवेशन १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरेको थियो ।
यस्तै प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा गर्ने काँग्रेसको निर्णय थियो । तर समयमा क्रियाशील सदस्यता टुंग्याउन नसक्दा तल्लो तहको कार्यतालिका प्रभावित हुने भएपछि कार्यतालिका परिमार्जन गरिने सहमति भएको हो ।
प्रतिक्रिया