काठमाडौं - कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, एक सातायता आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । दुई साताअघिको तुलनामा आज आईसीयूमा उपचाररत संक्रमितको संख्या झण्डै डेढ सयले बढेको छ ।
दुई साताअघि २५ असारमा देशभर ५३९ जनाको आईसीयूमा र १६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यसको एक सातापछि १ साउनमा पनि ५७८ जनाको आईसीयूमा र १७४ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
आज भने ६८२ जनाको आईसीयूमा र १७५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बागमती प्रदेशमा ३९६ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै, प्रदेश १ मा १३१, गण्डकीमा ७८, लुम्बिनीमा ५३, कर्णालीमा ११, सुदूरपश्चिममा आठ र प्रदेश २ मा पाँच जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या पनि बागमती प्रदेशमै धेरै छ । बागमतीमा ९५, प्रदेश १ मा ५५, गण्डकीमा १५, लुम्बिनीमा लुम्बिनीमा ६, सुदूरपश्चिममा तीन र कर्णालीमा एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश २ मा कसैलाई पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छैन ।
प्रतिक्रिया