मदन भण्डारी राजमार्ग अवरुद्ध, खोलामा डुबेर १ जना बेपत्ता

४ बर्ष अगाडि

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा  त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए   । 

यस्तै नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । 

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया