काठमाडौं - साउदी अरबले विदेशी कामदारको अवासीय अनुमति पत्रको समय बढाउने भएको छ । कोरोना भाइरस महामारीका कारण आ–आफ्नो देशमै रोकिएका कामदारहरुको अवासीय अनुमति पत्र म्याद साउदी सरकारले अगष्ट ३१ सम्म बढाउन लागेको हो ।
साउदीबाट आफ्नो देश गएका र कोरोना महामारीका कारण साउदी फर्किन नपाएका विदेशी कामदारको अवासीय अनुमति पत्रको समय अगष्ट ३१ सम्म स्वतः बढ्ने त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नरहेका कारण साउदी सरकारले यस्तो व्यवस्था गरेको बताइएको छ ।
साउदीको यस निर्णयसँगै अवासीय अनुमति पत्रको म्याद सकिएर रोजगारी गुम्ने अवस्थामा पुगेका नेपालीसहित अन्य देशका कामदारहरुलाई केही राहत मिलेको छ ।
यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एण्ड इन्ट्री भिसाको म्याद पनि अगस्ट ३१ सम्म निःशुल्क बढाउने पनि स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया