एजेन्सी - अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले क्षमायाचना गरेका छन् । सरकारले वाचा गरेअनुसार समयमै कोरोना भाइरसविरुद्धको खोप आफ्ना नागरिकलाई दिन नसकेको भन्दै उनले क्षमायाचना गरेका हुन् ।
मरिसनले आफू उक्त कार्यमा पछि परेको भए पनि त्यसलाई सफल बनाउन लागिपरेको बताएका छन् । प्रधानमन्त्री मरिसनले आफूले जनतालाई वाचा गरेको समयमा खोप उपलब्ध गराउन नसकेकोमा जिम्मेवारी लिँदै बिहीबार माफी मागेका हुन् ।
उनले आफूले घोषणा गरेको खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि अन्य फार्मेसीलाई समेत आफ्नो कार्यक्रममा समावेश गराइने बताए । अस्ट्रेलियाका विपक्षी दललगायतले सरकार आफ्ना नागरिकलाई खोप दिलाउने मामिलामा ढिला भएको आरोप लगाउँदै आएका छन् ।
यसका साथै उनलाई खोप कार्यक्रमलाई सोचेजति सफलता दिन नसकेकोमा जिम्मेवारी लिनसमेत दबाब परेको थियो । जसका कारण प्रधानमन्त्री मरिसनले बिहीबार उक्त ढिलाइका लागि जिम्मेवारी लिँदै माफी मागेका हुन् ।
साथै अहिले सरकारले करोडौं डलर बराबरको राहत कार्यक्रमसमेत घोषणा गरेको छ । पछिल्लो केही सातादेखि कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को संक्रमणसँग अस्ट्रेलिया जुधिरहेको छ । अस्ट्रेलियाका तीन राज्य अहिले पूर्ण लकडाउनमा छन् ।
न्यु साउथ वेल्स, भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा डेल्टा भेरियन्ट देखिएपछि लकडाउन घोषणा गरिएको छ । अस्ट्रेलियामा बिहीबार मात्र करिब १ सय ५० नयाँ कोरोना भाइरसको संक्रमण देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये सबैभन्दा धेरै न्यु साउथ वेल्समा १ सय २४ सय भिक्टोरियामा २८ वटा छन् ।
प्रतिक्रिया