वालिङका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन् ।
जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन् । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन्, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाइन् ।
दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।
त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उहाँ पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।
यस्तै महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनि शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् ।
प्रतिक्रिया