काठमाडौं - नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ ।
साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि बताए । त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ ।
बैठकको गृहकार्यको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने पनि बैठकले निर्णय गरेको छ । सरकारमा जाने विषयमा भने बुधबारको बैठकमा कुनै छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । तर सकेसम्म गठबन्धनका सवै शक्तिसँग छलफल गरेर सरकारलाई पूर्णता दिने माओवादीको निश्कर्ष छ ।
प्रतिक्रिया