सङ्कटमा माधव नेपाल, 'फुट्न पनि नसक्ने जुट्न पनि नसक्ने' अवस्थामा एमाले

४ बर्ष अगाडि

काठमाडौं - सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । 

तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ ।बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो ।

यता सरकारबाट केपी ओलीलाई हटाएपछि पार्टीभित्र केही सजिलो हुने सोचेका माधव कुमार नेपाललाई सोचेको जस्तो सजिलो हुन सकेको छैन । १२१ सदस्यीय प्रतिनिधिसभामा माधव नेपालको पक्षमा ४० प्रतिशत पनि सांसदहरू पुग्न सकेका छैनन् । 

यो अवस्थामा अर्को दल दर्ताका लागि अध्यादेश नै ल्याउँदा पनि माधव नेपाललाई पर्याप्त सङ्ख्या नपुग्ने हो कि भनेजस्तो स्थिति देखिन्छ । माधव नेपालको अर्को सङ्कट अहिले उनको समूहमा रहेका सांसद र नेताहरू पनि पार्टी फुटाउने मूल्यमा नेपाललाई सघाउने पक्षमा छैनन् ।

पार्टी फुटाउने अभियानमा नेता नेपाललाई भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेजस्ता नेताहरूले साथ दिने सम्भावना छैन । यो अवस्थामा नेता नेपालले के गर्लान् रु उनी निकै ठूलो अक्करमा देखिन्छन् ।

उता केपी ओली पक्ष पनि माधव नेपाल र झलनाथ खनाललाई पार्टीबाट हटाएको घोषणा गरेर फुटलाई प्रश्रय दिएको आरोप खेप्न डराइरहेको अवस्था छ ।

यस अर्थमा एमाले फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने अवस्थामा पुगेको देखिन्छ । किनभने, ओली कुनै पनि हालतमा माधव नेपाललाई पार्टीमा ल्याउने पक्षमा देखिँदैनन् । उनी नेपालबाहेक नेपाल पक्षका अन्य नेतालाई फकाउँदै छन् । त्यो कुरामा माधव नेपाल पक्ष तयार छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया