चितवनमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए। अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो ।
गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन् । कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना बढेको थापाले बताए । दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन् ।
कार्यालयका अनुसार गत आवमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ । उनीहरुबाट कारवाहीस्वरुप रु दुई लाख ४४ हजार ५०० जरिवाना गरिएको छ । यस्तै ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले गत आवमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ ।
यस्तै सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।
प्रतिक्रिया