काठमाडौं - कैलालीस्थित मालपोत कार्यालय टीकापुरमा राजश्व सङ्कलन वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा आव २०७७/७८ मा रु ११ करोड ८५ लाख ५६ हजार ५१७ बढी राजश्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार आव २०७७/७८ मा रु २८ करोड ६७ लाख ४० हजार १६६ राजश्व सङ्कलन भएको छ । अघिल्लो आव २०७६/७७ मा रु १६ करोड ८१ लाख ८३ हजार ६१९ मात्र राजश्व सङ्कलन भएको थियो । यो रकम गत आव २०७६/७७ भन्दा ५८.६ प्रतिशत बढी भएको कार्यालयका सूचना अधिकारी सर्वानन्द चपाईँले जानकारी दिए ।
“आव २०७७/७८ मा सबैभन्दा बढी जग्गा रजिष्ट्रेशन शुल्कबाट रु १९ करोड ६४ लाख २१ हजार ७०८ राजश्व सङ्कलन भएको छ”, चपाईँले भने, “पूँजीगत लाभकरबाट रु आठ करोड ५३ लाख ७१ हजार ९६५, जग्गा प्रशासनतर्फ रु २५ लाख ९१ हजार ४५७, अग्रिम आयकरबाट रु १६ लाख ९२ हजार ४०६, विविध कर तथा दस्तुरबाट रु छ लाख १२ हजार ६००, भू–सेवा दस्तुरबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ ।”
मालपोत कार्यालय टीकापुरबाट आव २०७७/७८ मा रु ११ हजार २५२ लिखत पारित भएका छन् भने दुई हजार १३३ मिसिल फरफारक भएका छन् । अघिल्लो आवमा सात हजार ३८१ लिखत पारित भएका र एक हजार २७२ मिसिल फरफारक भएको सूचना अधिकारी चपाईँले जानकारी दिए ।
मालपोत कार्यालयबाट सङ्कलन भएको राजश्वमध्ये पूँजीगत लाभकर, अग्रिम आयकर र सेवा शुल्कको रकम सङ्घीय सरकारमा र अन्य बाँकी राजश्वको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारलाई जाने गरेको सूचना अधिकारी चपाईँले जानकारी दिए ।
प्रतिक्रिया