पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए ।
यस्तै काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया