विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।
मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि। पोखरेलले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए । सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ छ ।
प्रतिक्रिया