ओली–मोदी ट्युनिङ मिल्दै

७ बर्ष अगाडि

 काठमाडौं- निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन् । चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ ।

वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो । वाम गठबन्धनले बहुमत जित हासिल गर्दा निर्वाचन भएको झन्डै एक महिना मौन रहेको भारतीय संस्थापन पक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसयताको एक महिनाभित्र एमाले अध्यक्ष ओलीलाई दुईपटक टेलिफोन गरिसकेका छन् ।

एक महिनाको अन्तरालमा ओलीलाई दुई पटक फोन गरी उनले बधाईसमेत दिए । प्रधानमन्त्री चयनसमेत नभईकन ‘अपकमिङ’ प्रधानमन्त्रीका रूपमा ओलीलाई शुभकामना दिँदै भारत भ्रमणको मौखिक निम्तोसमेत दिएका छन् । स्वास्थ्योपचारका लागि थाइल्यान्ड गएका ओलीलाई स्वदेश फर्किएलगत्तै मोदीले आइतबार टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएका थिए ।

ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि भारतमा स्वागत गर्न भारत सरकार र भारतीय जनता आतुर रहेको समेत मोदीले बताएका थिए । मोदीले यसपटक पनि भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई भारत भ्रमणको मौखिक निम्तो दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । मोदीले नयाँ सरकार गठनका विषयमा समेत ओलीसँग जिज्ञासा राखेका थिए ।

यता, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत पछिल्लो समय राजनीतिक वृत्तमा सक्रिय बन्दै गएका छन् । उनले राजनीतिक दलका उच्च नेतादेखि दोस्रो तहका नेताहरूसँग भेट गर्दै आएका छन् । यसअघि नेपालमा निर्वाचन सम्पन्न भएको लामो समयसम्म भारतीय संस्थापन पक्षले कुनै प्रतिक्रिया दिएको थिएन । यद्यपि, भारतीय राजदूत पुरीको सक्रियता र उनी दिल्ली पुगेर फर्किएलगत्तै भारतीय प्रधानमन्त्रीले नेपालका नेतालाई फोन गरी बधाई दिएका थिए । ६ पुसमा उनले टेलिफोन गरी प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका थिए, राजधानी दैनिकमा खबर छ  ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया