१८ दिनपछि बागलुङ–कुश्मीशेरा सडक खुल्यो, डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

४ बर्ष अगाडि

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

 आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।

करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पु¥याएको थियो ।
 
“दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूलाठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ”, कार्कीले भने, “ठूलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।” करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।
 
अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो । बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । “खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौं, विकल्प पनि त छैन्”, कार्कीले भने। 

यस्तै अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । 

 जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया