आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आज विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए ।
तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिए । आइतबार विहान एमाले सचिव तामाङले पनि बैठक नरोकिने जानकारी दिए ।
यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए ।
यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’
विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ । उनले भने, ‘उहाँले विश्वासको मत दिनु नै हुने थियो । त्यो चर्चाको विषय भएन । तर पार्टीमा हुर्किँदै गएको अराजकता रोक्ने विषयमा छलफल हुन्छ ।’
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए ।
‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्याएर अगाडि बढ्छौँ,’ उनले भने ।
प्रतिक्रिया