नेपाल पक्षले देलान् त प्रधानमन्त्री देउवालाई विश्वासको मत ?

४ बर्ष अगाडि

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।

अर्का एक माधव पक्षीय नेताले भने विश्वासको मतका बारेमा समेत छलफल हुने बताए । यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । 

तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ । तर एमालेको माधव पक्षले भने यसबारेमा केही बताइसकेको छैन । यद्यपि सर्वोच्च अदालतको गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् । हालको संसद्को अङ्कगणित अनुसार देउवाले विश्वासको मत पाउन १६ सांसद आवश्यक पर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया