हातहतियार र लागु औषधसहित ६ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना।५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट बरामद गरिएको छ ।

यस्तै कपिलवस्तुमा विभिन्न हातहतियारसहित ४ जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका–८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् ।

उनीहरूको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्तहुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 यस्तै  ​‘मेड इन युएसए’लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित सोही ठाउँ बस्ने ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया