पहिराका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।
लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिए । यस वर्ष मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिराले बढी नै असर गरेको छ । सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि विशाल ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो ।
कुश्मा–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इञ्जिनीयर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुई व्यक्तिको अवस्था भने अज्ञात नै छ ।
तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
हिलोमा फसेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् ।
तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताए ।
प्रतिक्रिया