काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता भएको छ । छलफलमा जसपाबाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी थिए ।
सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो । मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि जसपाबाट मन्त्री बनेकाहरू महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विपक्षी बनेको ओली खेमासँग ठाकुर पक्षले छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी र संसदीय दलमा बहुमत जुटाएर जसपाको आधिकारिकता लिने देखिन्छ । पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद पनि यादव पक्षसँग निकट हुन थालेको पाइन्छ । पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा पर्ने संकेत देखिएको छ ।
शुक्रबार ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठक ७ जना सांसदले बहिस्कार गरेका थिए ।
प्रतिक्रिया