काठमाडौं - एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ । पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए ।
तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्ने लगायतका निर्णय गराएका थिए । आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष ओली नेपालसँग क्रुद्द छन् ।
नेता नेपाल पनि ओलीले ‘अति गरेको’ भन्दै देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरूसहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहन्छन् । त्यसको पहलसमेत गरिरहेका छन् ।
नेपाल पक्षको २३ मतको बलमा देउवा सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेपछि ओली नेपालसँग रुष्ट छन् ।
प्रतिक्रिया