नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्।
कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरे पछि बैठक कक्षबाट नेपाल समुहका नेताहरु बाहिरिएका छन् ।
नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए ।
रावलले बैठकमा आफूलाई एमालेको उपाध्यक्षका रुपमा बोल्न दिन आग्रह गरेका थिए । उनको आग्रहपछि ओलीले बैठकमा बोल्न दिएका थिए । रावलले बैठक रोक्न आग्रह गरे पनि ओलीले भने बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए ।
आजै ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बानेश्वरस्थित संघीय संसद्को लोत्से हलमा बोलाएको बैठकमा एमालेको अब प्रतिनिधि सभामा कस्तो रणनीति बनाउने भन्नेबारेमा छलफल हुने बताइएको छ ।
नेपाल समूहले संसदीय दलको बैठक पनि बहिष्कार गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया