आजबाट यातायातको राजस्व भुक्तानीमा अनलाइन प्रणाली सुरु

४ बर्ष अगाडि

काठमाडौं - आजबाट बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वको भुक्तानी अनलाइन प्रणालीमार्फत गर्नसक्ने भएका छन् ।

यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्यवस्था गरेसँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी विवरण हेर्न सकिने भएको हो ।

नयाँ आर्थिक वर्ष २०७८/७९ अर्थात् साउन १ गते शुक्रबारबाट आफ्नो सवारीसम्बन्धी विवरण प्रविष्ट र अद्यावधिक गर्न सकिने भएको हो ।

बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।

साथै अनलाइनमार्फत राजस्व भुक्तानीपछि कार्यालयमा गई सेवा लिनपर्ने सेवाग्राहीले शुक्रबारबाट मन्त्रालयको भेटघाट व्यवस्थापन प्रणालीको वेब पोर्टलमार्फत ई–टोकन प्राप्त गरी तोकिएको समयमा तोकिएको सेवा लिनसक्ने जनाइएको छ ।

यस्तै नियमावलीमा विद्युतीय सूचना प्रणालीमा सेवाग्राहीले सवारीको विवरण प्रविष्ट गर्न तथा मन्त्रालय वा कार्यालयले सेवाग्राहीबाट सवारीको विवरण माग गर्न वा प्रविष्ट गर्नसक्ने व्यवस्था गरिएको छ ।

सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया