एजेन्सी - बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै बस्ने भएका छन् । उनी बार्सिलोनासँग ५ वर्षको सम्झौता नवीकरण गर्न तयार भएका हुन् । बार्सिलोनाबाट उनी १७ वर्षदेखि सिनियर टिमबाट खेलिरहेका छन् । कोपा अमेरिका चलिरहँदा उनको बार्सिलोनासँगको सम्झौता सकिएको थियो ।
संसारकै विभिन्न क्लबहरूबाट प्रस्ताव आए पनि अन्ततः मेस्सी बार्सिलोनामै रहने पक्का भएको छ । मेस्सीले भर्खरै अर्जेन्टिनालाई २८ वर्षपछि आफ्नो पहिलो कोपा अमेरिका उपाधि जिताउन सफल भएका थिए । अर्जेन्टिनी कप्तान मेस्सीले सो दक्षिण अमेरिकी महादेशीय उपाधिको व्यक्तिगत विधातर्फ सबै उपाधि जितेका थिए । कोपा २०२१ को सर्वाधिक गोलकर्ता तथा सर्वाधिक असिस्टकर्ता मेस्सी नै भएका थिए । अझै उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।
बार्सासँग जुलाई १ मा सम्झौता अन्त्य हुनु अगाडि मेस्सी संसारकै सर्वाधिक पारिश्रमिक लिने खेलाडीको सूचीमा अग्र स्थानमा थिए । यद्यपि बार्सिलोना क्लबको कमजोर आर्थिक स्थिति हेरेर उनी ५० प्रतिशत पारिश्रमिक कटौतीमा पनि नयाँ सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।
६ पटकका बालोन डे’ओर विजेता मेस्सीको व्यवसायीक करियर पनि लोभलाग्दो छ । कोपाको उपाधि हात लागेपछि धेरैको अनुमान थियो कि मेस्सी महङ्गोमा बिक्री हुन्छन् । उनलाई पेरिस सेन्ट जर्मेन, म्यानचेष्टर सिटी र इन्टर मिलान लगायतले रुचि देखाएको समेत बताइएको थियो । सम्भवतः त्यहाँ उनले धेरै रकम पाउँथे होला । उनलाई प्रस्ताव आएकै थियो ।
तर तलबमा आधा कटौती गरेर बार्सिलोनासँगै नयाँ सम्झौता गर्न तयार भएका हुन् । ३४ वर्षे मेस्सीले खेलाडी करियर बार्सिलोनाबाट नै सकाउने निर्णय गरेको स्पष्ट हुन्छ । उनले बार्सिलोनाबाट क्लबस्तरको हरेक उपाधि जितेका छन् । यति ठूलो खेलाडीले अहिले आएर ५० प्रतिशत रकम कटौती गरेर सम्झौता गर्नु भने पक्कै पनि आश्चर्यजनक हो ।
बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो । त्यसमा उनी सफल भएका छन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।
मेस्सी र बार्सिलोनाबीचको लिखित सम्झौता भने भइसकेको छैन । केही औपचारिकता बाँकी रहेकाले अर्को हप्ता सम्झौता हुने बताइएको छ । सम्झौता हुँदा उनी सन् २०२६ सम्म बार्सिलोनामा रहने छन् । त्यतिबेला उनको उमेर ३९ वर्षको हुनेछ ।
प्रतिक्रिया