ललिता निवास प्रकरण: गच्छदारलाई थुनामा राख्ने कि रिहा गर्ने भन्ने विषयमा बहस जारी

४ बर्ष अगाडि

ललिता निवास प्रकरणमा मुछिएका  कांग्रेस उपसभापति  विजय कुमार गच्छदारको बयान सकिएको छ ।

बुधवार विशेष अदालतमा उपस्थित भएका गच्छदारको बयान ११ बजेबाट २ बजेसम्म चलेको थियो । ३ घण्टा लामो बयान सकिएपछि थुनछेक बहस शुरू भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस भइरहेको हो ।

थुनछेक बहसपछि गच्छदारलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउने छ । 

थुनछेकमा गच्छदारको पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू​ लीलामणि पौडेल, ललित बस्नेत, रुद्र पाठक लगायतले बहस गर्दैछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए । विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया