पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन ।
धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । यसवर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुबैमा पहिरो खसेर दुःख दिएको छ । वर्षासँगै सेती दोभान र कालीखोलामा नयाँ पहिरो झरेका हुन भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन् ।
सेतीदोभान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ । बिगत ६ वर्ष देखि सो सडक हेर्दै आउनु भएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटरमाथिसम्म पहाड छ । सोही पहाडबाट पहिरो झर्ने गरेको छ ।
माथिल्लो ६ मिटर लगभग ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्र्यान र चट्टान रहेको छ । बीचमा पानीको मुहान भएको उनले जानकारी दिए ।
चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ । त्यो भन्दा माथिबाट पहिरो झरेको उनले जानकारी दिए । त्यहाँ फुटेका चट्टान रहेका छन् । पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ ।
कालीखोला नजिकै पहिलो पटक पहिरो खसेको हो । पहिरो रोकिएका सामग्रीसहित रुख बिरुवा पहिरोसँगै झरेका हुन । त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ ।
नयाँ पहिरो झरेका दुबै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ । पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुख्खा पहिरो झर्ने गरेको छ । खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिँदा पहिरो खस्ने गरेको छ ।
जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो । यो सडक हुँदै १० हजार हाराहारी सवारीसाधन दैनिक गुड्ने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रुपमा यसलाई लिइन्छ ।
यता एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता हुनुभएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता भएका थिए । खोजीकार्य जारी रहे पनि उहाँको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए।
कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पु¥याएको हुनसक्ने प्रहरी आशङ्का छ । गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ । पहिरामा परी घाइते भएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर पर्केको प्रनानि न्यौपानेले जानकारी दिए । पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए । घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ ।
प्रतिक्रिया