काठमाडौं– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए । एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताए ।
मङ्गलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाउनुभएका पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना सङ्क्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन नसकेको पालिकाले जनाएको छ । अध्यक्ष कडरिया कोरोेना सङ्क्रमणमुक्त भएपछि उनले आजका लागि बजेट अधिवेशन बोलाएका थिए।
यद्यपि पालिकाका विभिन्न स्थानमा सङ्क्रमणको दर बढ्न थालेपछि आजका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगन गरिएको लिङ्देनले बताए । ताप्लेजुङका नौमध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आव २०७८÷७९ का लागि असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
प्रतिक्रिया