केपी शर्मा ओली औपचारिक रुपमा सिंहदरबारबाट बाहिरिएका छन् । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले प्रधानमन्त्रीका रूपमा बिदाइ सम्बोधन गरेर बाहिरिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बिदाई सम्बोधन गरेका ओली करिब १ घण्टा बोले । त्यस क्रममा उनले ढिलोमा पनि अबको डेढ वर्षपछि निर्वाचन हुने र त्यसपछि एमाले फेरि एक्लै बहुमतका साथ सत्तामा फर्किने दाबी गरे ।
सम्बोधन गरेर ओली सिंहदरबारबाट बाहिरिएका छन् ।
२०७४ फागुन ३ गते झण्डै दुई तिहाइ समर्थनसहित प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका ओली ४१ महिनापछि सिंहदरबारबाट बाहिरिएका हुन् ।
ओलीले जनताको आदेशबाट नभई सर्वोच्चको परमादेशबाट बिदा हुन लागेको बताएका छन्।
उनले भनेस् 'आज फेरि जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो। त्यस कारण सर्वोच्चको परमादेशको कारण सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु।'
'सरकारबाट बाहिरिनु परेकोको विषयमा मलाई रत्तीभर चिन्ता छैन।'
'यस कारण पनि चिन्ता छैन कि मैले देश र जनताका प्रति सम्पूर्ण निष्ठाका साथ र इमानदारिताका साथ देशको संवृद्धि, सुशासन र विकासका कुरालाई ध्यानमा राखेर‘ काम गरेको छु।'
'मलाई आफ्नो कामप्रति खुसी छ।'
प्रतिक्रिया