पनौती नगरपालिकामा धान बाली सुक्न थालेका छन् । पनौतीको खोपासी र कुशादेवीको अधिकांश क्षेत्रमा लगाइएको धान बालीमा रोपेको २ महिना नबित्दै बोट सुक्न थालेका हुन् ।
नगरपालिकाका वडा नं। २, ३ कुशादेवी र वडा नं १० खोपासीमा सबैभन्दा धेरै यस्तो प्रकोप देखिएको छ ।
अधिकांश क्षेत्रमा धान बाली सुकेर परालजस्तै देखिन थालेका छन् भने फट्के कीरा, पुतली को प्रकोप बढेको छ । नेपालमै उन्मोचित खुमल –४ र १० जातको धानमा समेत टुप्पा सुक्ने ,नबढ्ने, जरै देखि सुकेर पराल जस्तो भएको कृषकहरूको भनाइ रहेको छ ।
किसानले लगाएका हाइब्रिड धानबाट सुरु भएको यो प्रकोप रैथाने धानमा समेत सरेको छ । किसानहरूले उत्पादन बढाउन हाइब्रिड जातका धान रोपेको बताउँछन् । राष्ट्रियस्तरमा तोकिएको भन्दा धेरै धान फलाएर राष्ट्रपति पुरस्कार सम्म जितेका यस क्षेत्रमा यो पटक गुणस्तर मापन नगरी हाइब्रिड जातका नाम समेत थाहा नभएका भारतीय र चिनीयाँ धानको बिउ रोपेको किसानहरू बताउँछन् ।
नेपालमा खुमल –४र १० प्रजातिका धानको राष्ट्रिय उत्पादकत्व प्रति हेक्टर ६ दशमलव ३ मेट्रिक टनसम्म हुने गरेको छ । समयमै नगरपालिका कृषि शाखाले ध्यान नदिदा यस्तो समस्या आएको कृषकहरू बताउँछन् । यता कृषि शाखाले भने समस्या थाहा पाउन साथ प्राविधिक पठाएर परिक्षण गरीएको बताएको छ ।
कृषि शाखा प्रमुख मणि सापकोटाका अनुसार परिक्षण गरेर कीरा मार्ने झोल औषधी इमिडाक्लोप्रिड बितरण गरेको र ढुसीका लागी सिडाव्राइड, जिन पाउडर जस्ता औषधी वितरण गरेको बताएका छन् ।
कृषकका गुनासा आउन साथ उपमेयर गीता बन्जारा र आफै फिल्डमा गएर निरीक्षण गरी ५ दिने शिविर समेत सञ्चालन गरेको सापकोटाले बताए । कोरोना महामारीका कारणले यो वर्ष धानको बिउ खरीद गर्न नसक्दा नगरपालिकाले धानको बिउ अनुदानमा वितरण गर्न नसकेको सापकोटाले बताएका छन् ।
पनौती नगरपालिकाले आन्तरिक स्रोत बाट आर्थिक वर्ष ०७८÷८९मा धानको बिउ खरिदका लागी २ लाख बजेट छुट्याएको छ ।
प्रतिक्रिया