अझै खुलेन पर्वत–बागलुङ सडक खण्ड,  दुर्घटनामा परी  २ जनाको मृत्यु

४ बर्ष अगाडि

भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल हुनसकेको छैन । सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । उनका अनुसार आज पनि दिनभर प्रयास गरिने भएको छ । अहिले यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षाले झनै समस्या भएको खड्काले बताउनुभयो । वर्षा रोकिएपछि थप विस्फोट गराएपछि सम्भवतः आज साँझसम्म एकतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान प्रहरीको छ । 

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारी गुड्न नसक्दा मालवाहक सवारी बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका छन् । 

यता रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५​ बजे  देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो ।

 नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा पटेल र २२ का  कोबिन्द्र पटेलको  घटना स्थल मै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । त्यसैगरी पाना पटेल को छोरा राकेश पटेल र मायाराम पटेल को छोरा कान्थ पटेल गम्भीर घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि रातीनै एम्बुलेन्सबाट बीरगंज पठाइएको प्रहरीले जनाएको छ । 

मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको र  घटनाबारे थप अनुसंधान भैरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया