काठमाडौं, अभिनेता रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमवार आफ्नो पार्टी ‘रजनी मक्कल मंद्रम’ लाई विगठन गर्दै राजनीतिबाट सन्यास लिएका हुन् । उनले पार्टीका पदाधिकारीहरुलाई आफू भविष्यमा राजनीतिमा नफर्किने बताएको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।
अब रजनीकान्तले नयाँ संगठन ‘रजनी फ्यान क्लब एसोसिएशन’ को नामबाट समाजसेवा गर्नेछन् । गत २९ डिसेम्बरमा उनले आफ्नो खराब स्वास्थ्यका कारण चुनावी राजनीतिबाट टाढा रहने घोषणा गरेका थिए । उनले तमिलमा एक चिट्ठी लेख्दै चुनावमा नउठेरै पनि जनताको सेवा गर्ने बताएका थिए । २०२१ को विधानसभा चुनाव लड्ने गरी उनले राजनीतिक पार्टी दर्ता गरेका थिए ।
विधानसभा चुनावमा लड्न ३ डिसेम्बरमा ‘रजनी मक्कल मंद्रम’ पार्टी घोषणा गर्ने उनको तयारी थियो । उनी राजनीतिमा होमिन लागेको खबरले त्यहाँका जनता निकै खुसी भएका थिए । किनकि, दक्षिण भारतमा उनलाई भगवान सरह मान्ने गरिन्छ । तर, अब उनले जनतालाई निराश बनाउँदै राजनीतिबाट सन्यास लिएका छन् । उनी हालै अमेरिकामा उपचार गरेर स्वदेश फर्किएका हुन् ।
प्रतिक्रिया